एजेन्ट मार्फत दुबई गएर फसेका पर्साको बहुदरमाई नगरपालिकाका ७ जना युवा मेयर साहको प्रयासमा गाँउ फिर्ता
वीरगन्ज, ४ कात्तिक । एजेन्ट मार्फत बैदेशिक रोजगारको लागि दुबई गएर फसेका पर्साको बहुदरमाई नगरपालिकाका ७ जनालाई नगर प्रमुख नितेन्द्र साहले उद्दार गरि स्वदेश फर्काउनु भएको छ ।
आफ्नो निजी खर्चमा दुबई भ्रमणमा गएका बेला नगर प्रमुख साहले बहुदरमाई नगरपालिका वडा नंबर १ बिश्रामपुरका हरिशंकर ठाकुर र प्रदिप कुमार, वडा नंबर २ पिपराका प्रकाश प्रसाद, बाबुचन पासवान, बशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई उद्दार गरि नेपाल फर्काउनु भएको हो ।
गत असोज ४ गते सर्लाहीको बरहथवाका एजेन्ट सुरेन्द्र यादव मार्फत टूरिस्ट भिसामा बैदेशिक रोजगारीको लागि दुबई गएर फसेका ७ जना एक महिनापछि , नगरप्रमुख साहको प्रयासमा आज बिहान घर फर्किएका हुन् ।दुबई भ्रमणमा गएका बेला नगर प्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्या बारे जानकारी गराएका थिए ।
चकलेट कारखानामा काम लगाइदिने भन्दै एजेन्ट यादवले एक लाख ७० हजारको दरले सातै जनासंग असुल गरी टूरिस्ट भिसामा दुबई पठाएका थिए । दुबई पुगेका उनीहरुको पासपोर्ट बांगलादेशी नागरिक शेख इमरानले आफ्नो नियन्त्रणमा लिएका थिए । ती बंगालदेशी नागरिकले एउटै कोठामा सातै जनालाई बास बस्न लगाई सफाईकर्मीको काम दिएका थिए ।
दिनहु बसमा आएर काम गर्ने ठाँउमा लग्ने र एक छाक मात्र खाना दिने गरेको आज घर फर्किएका प्रकाश प्रसादले वताउनुभयो ।चकलेट प्याकिङको काम लगाइदिने भन्दै आफुहरुलाई एजेन्ट यादवले पठाए पनि त्यहाँ पुगेपछि बन्धक बनाएर सरसफाईकर्मीको काममा लगाएको प्रकाशले वताउनुभयो ।
दिनभरी काम गराउने र एक छाक रातीमा मात्र खाना दिने गरेको उहाले दुःखेसो सुनाउनुभयो ।आफनै नगरपालिकाका नगरप्रमुख साह दुबई आएको बारे आफुहरुलाई थाहा भएपछि उहाँलाई सम्पर्क गरी आफूहरुले आफ्नो समस्या बारे जानकारी गराएको र आफुहरुको समस्या बारे थाहा पाए लगतै नगरप्रमुख साहले आफुहरुलाइ भेटेको भन्दै प्रकाशले आफुहरु नगरप्रमुख साहकै प्रयास र पहलमा घर फर्किन पाएको बताउनुभयो ।
नगरप्रमुख साहले भने आफु निजी खर्चमा बिदाको समयमा दुबई भ्रमणमा गएका बेला ु आफ्नो गाउँघरका युवाहरु त्यहा समस्यामा फसेको थाहा पाएपछि भ्रमणको कार्यक्रम छोट्याएर समस्या समाधानमा लागेको वताउनुभयो । ३ दिनको प्रयासमा बंगलादेशी नागरिकको नियन्त्रणमा रहेको पासपोर्ट फिर्ता गर्न लगाई नेपाल फर्कन सम्पूर्ण व्यवस्था मिलाई आफु दुबईबाट फर्केको उहाले वताउनुभयो ।
बैदेशिक रोजगारीको लागि टूरिस्ट भिसामा पठाएका एजेन्टको विरुद्ध आफुहरुले कानुनी उपचार समेत खोज्ने उहाले वताउनुभयो । आफु घर पुगेपछि आफनो नगरपालिका कै अझै ४ जना दुबई मै फसेको बारे आफुले थाहा पाएकोले उनीहरुलाई पनि घर फर्काउन पहल गर्ने उहाले बताउनुभयो ।