देशभरिका बालबालिकालाई कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ खुवाइने
वीरगन्ज, ५ कात्तिक । देशभरिका बालबालिकालाई पर्सि कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाइने भएको छ । ६ महिनादेखि ५ वर्ष मुनिका करिब २७ लाख बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउने सरकारको तयारी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको हो ।
यसअघिका वर्षमा कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा यसपाली उक्त मिति दसैमाँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको मन्त्रालयले जनाएको छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने मन्त्रालयले जनाएको छ ।