एमसिसि संसदबाट पास हुने प्रधानमन्त्री देउवाको दाबी
वीरगन्ज, ५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी संसदबाट पारित हुने बताउनु भएको छ ।बाढी र पहिरोले पुरयाएको क्षतिको अवलोकन गर्न सुदूरपश्चिम पुग्नु भएका प्रधानमन्त्री देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानुन मातहत हुने भएकाले पारित हुने बताउनु भएको हो ।उहाँले एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ नभएको पनि दाबी गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा झुटा प्रचार भइरहेको पनि बताउनुभयो । उहाँले बाढी र पहिरोले पूर्व र पश्चिममा धेरै ठूलो क्षति पुरयाएकाले अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन पनि दिनु भएको छ ।बाढि पहिरोबाट प्रभावितहरुका लागि सरकारले आकस्मिक राहत ल्याइसकेको भन्दै उहाँले थप क्षतिको विवरण सङ्कलन गरेर थप राहतका कार्यक्रम ल्याउने पनि बताउनुभयो ।
यस्तै, महाकाली नदीले पुर्याएको क्षतिका सम्बन्धमा भारतसँग कुरा भइरहेको पनि उहाँले बताउनु भयो ।यस्तै,नेपाली कांग्रेसको आसन्न महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने प्रश्नमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन समितिलाई सबै जिम्मेवारी दिइएको जवाफ दिनु भयो ।