लामो समयदेखि बन्द रहेको वीरगन्जको घण्टाघरको घडी आजदेखि सञ्चालनमा आएको छ
वीरगन्ज, १६ कात्तिक । लामो समयदेखि बन्द रहेको वीरगन्जको घण्टाघरको घडी आजदेखि सञ्चालनमा आएको छ । आज यमपञ्चकको पहिलो दिन अर्थात धनतेरशको शुभदिन पारेर घण्टाघरको घडी पुनः सञ्चालनमा आएको हो । वीरगन्ज महानगरपालिका र नेपाल युवा उद्यमी मञ्चको सहकार्यमा लामो समयदेखि बन्द रहेको घण्टाघर सञ्चालनमा ल्याईएको हो ।
घण्टाघरमा जडान गरिएको घडी आजदेखि सञ्चालनमा ल्याईएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताउनुभयो । झण्डै ६ बर्ष पहिले नै तत्कालिन वीरगन्ज उपमहानगरपालिकाले नेपाल टेलिकम क्षेत्रीय कार्यालय वीरगन्जलाई घण्टाघर सञ्चालन गर्न जिम्मा दिएको थियो ।टेलिकमले भारतको केरला स्थित टुल एण्ड टाईम इञ्जिनिरिङ कम्पनीसँग घडी जडान र मर्मत सहित संचालनका लागि सम्झौता गरेको थियो । तर, घडी जडान भएपनि सम्झौता अनुसार काम हुन नसकेर घण्टाघरको घडी फेरी बन्द भएपछि महानगरपालिकाको वोर्ड बैठकबाट नेपाल टेलीकमसँग भएको सम्झौता रद्द गरेको थियो । महानगरपालिकाले घण्टाघर मर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको र अब यसको सञ्चालन वीरगन्ज महानगरपालिकाले नै संचालन गर्ने महानगर प्रमुख सरावगीले बताउनुभयो ।
त्यसको लागि महानगरपालिकाले ५० लाख रुपैंया बजेट समेत विनियोजन गरेको बताउनुभयो । नेपाल टेलिकमले घण्टाघर सञ्चालन गर्न नसकेपछि सम्झौता रद्द गरिएको र अब वीरगन्ज महानगरपालिकासँग सम्झौता गरिएको घडी जडान कम्पनी टुल एण्ड टाईम इञ्जिनियरिङ्गका नेपाल प्रतिनिधि हृदयराज गौतमले बताउनुभयो ।