‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु



वीरगन्ज, २५ कात्तिक । राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो । आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिएको छ । आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिन तथ्याङ्क विभागले आग्रह गरेको छ । जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने तर विवरण नदिनेमाथि कानुनी कारबाही हुने तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो ।

यसअघि गएको भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गरिएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सकेसम्म भौतिक रुपमा र नभए स्याटेलाइटका माध्यमबाट अनुमानित जनसङ्ख्या निकाल्ने महानिर्देशक श्रेष्ठले बताउनुभएको छ । जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । जनगणनाको प्रारम्भिक नतिजा आउन झण्डै तीन महिना लाग्ने अनुमान छ । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो।

यसैबीच आजदेखि शुरु भएको १२ औं जनगणनामा पर्सामा भने केही जटिलताहरु देखिएका छन् ।

जिल्ला स्थित तथ्यांक कार्यालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुसँग जनगणनाको समन्वय गर्ने तथा स्थानीय स्तरमा वडा अध्यक्षहरुलाई नै जनगणना समन्वय समितिका संयोजक तोकिने र उनीहरुको रोहबरमा गणना गर्ने भनिएको छ । तर, वीरगन्ज स्थित तथ्यांक कार्यालयको स्थानीय तहहरुसँगको समन्वय खासै प्रभावकारी देखिएको छैन ।

प्रभावकारी समन्वय अभावमा यथार्थ विवरण सहितको जनगणना हुनेमा शंका उत्पन्न भएको छ । जनगणनाको व्यापक प्रचार प्रसारको अभाव र सरकारले खटाएका कर्मचारीहरुले विवरण लिन जाँदा सहज रुपमा विवरण टिपाउन नमान्ने समाजको समस्याका कारणले तथ्यांक सही आउनेमा आशंका उब्जिएको हो । सरकारले आफ्नो पूरा विवरण सही दिन अनुरोध गरेपनि स्थानीय स्तरमा समन्वयको अभावले यस्ता समस्याहरु देखिन सक्ने गणक तथा सुपरीवेक्षकहरुले आशंका व्यक्त गरेका छन् ।

तथ्यांक कार्यालय वीरगन्जका अनुसार पर्सा जिल्लामा पाँचसय ७० जना गणक खटिएका छन् । तथ्यांक कार्यालय पर्साले स्थानीय स्तरमा तालिम दिएर गणकहरुलाई खटाईएको कार्यालय प्रमुख केशव ज्ञवालीले जानकारी दिनुभयो । पर्साको ६ स्थानमा गणकहरुलाई तालिम समेत दिईएको उहाँले बताउनुभयो । कालिकामाई, जीराभवानी, पर्सागढी, परवानीपुर, वीरगन्ज लगायतका स्थानमा तालिमको आयोजना गरिएको प्रमुख ज्ञवालीको भनाई छ । सूचीकरणका लागि खटिएका कर्मचारीहरुबाटै जनगणनामा भाग लिन अनुरोध पत्र पनि पठाईएको प्रमुख ज्ञवालीले बताएपनि आम रुपममा भने जनगणनाको विषयमा नागरिकलाई खासै जानकारी छैन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन