उदाउँदै गरेको सूर्यलाई आज बिहान अर्घ दिएपछि चारदिने महाअनुष्ठानको पर्व छठ सकियो
वीरगन्ज, २५ कात्तिक । उदाउँदै गरेको सूर्यलाई आज बिहान अर्घ दिएपछि चारदिने महाअनुष्ठानको पर्व छठ सकिएको छ । हिजो अस्ताउँदै गरेको सूयलाई अर्घ दिएका व्रतालुहरूले बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएका हुन् । योसँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान चाडको उल्लास अब सकिएको छ ।
प्रकृतिको पूजा गर्ने पर्वको रुपमा परिचित छठका लागि झिलिमिलि पारिएका नदी, खोला र पोखरीस्थित छठघाटमा व्रतालुहरु बिहान उज्यालो नहुँदै पुग्छन् ।बिहान छटघाट पुगेपछि व्रतालुहरुले शिरशोप्तामा पुजा गर्छन । उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ । छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा ‘बिहनइया’ अथवा ‘भोरे घाट’ भनिन्छ ।
छठघाटबाट घर फर्किएपछि इनार, गाईलगायत चलनचल्ती अनुसार आसपासका मन्दिरहरुमा पूजा अर्चना गरिन्छ । व्रतालुले आफूभन्दा आदरणीय व्यक्तिसँग ढोगेर आशीर्वाद लिन्छन् र सानालाई आशीर्वाद दिन्छन् । त्यसपछि अदुवा, गुलियो, र तातोपानी खाएर व्रत तोडेर मात्रै भोजन गर्ने चलन छ ।
यसैबीच छठ पर्वको अवसरमा पूर्व युवराज्ञी हिमानी शाहले वीरगन्जको घडिअर्वा छठघाटको अवलोकन गरी पूजा अर्चना गर्नुभएको छ । हिजो अपरान्ह वीरगन्ज आउनु भएकी हिमानीले वीरगन्जको घडिअर्वा पोखरी परिसरमा बनाईएको छठघाटको अवलोकन गर्नुका साथै पूजापाठ समेत गर्नुभएको छ ।
हिमानीको आगमनपछि छठघाट स्थलमा भीड बढेको थियो । छठघाटमा प्रसादी राखिने दउरी लिएर पुगेका ब्रतालुहरु र हिमानीको आगमन एउटै समयमा भएपछि भीड बढेको हो । हिमानीलाई हेर्नेहरुको भीडले गर्दा छठघाटमा दउरी लिएर गएका ब्रतालुहरुले भने टाउकोमा दउरी लिएर उभिनु परेको थियो ।
हिमानीलाई स्वागत गर्ने क्रममा बढेको भीड हटाउन प्रहरीलाई पनि हम्मे हम्मे परेको थियो । समयको व्यावस्थापन हुन नसक्दा भीड नियन्त्रणमा समस्या भएको हो । ब्रतालुहरु छठघाट पुग्ने समयमा नै हिमानी पनि आईपुगेपछि उहाँलाई भित्र स्वागत गर्नेहरुका कारण दउरी लिएर गएका ब्रतालुहरु बाहिर नै उभिनु परेका थिए ।
यस्तै छठ पर्वको अवसरमा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले आज बिहान बिरगंज माहानगरको विभिन्न वडाका छठ घाटमा गएर पूजाअर्चना गर्नुभएको छ । महानगरको विभिन्न स्थानमा बनाईएको छठघाटमा गएर नगर प्रमुख सरावगीले पूजाअर्चना गरी छठी माताको दर्शन गर्नु भएको छ । साथै उहाँले छठी माता संग सबै नगरवासीको सुख समृद्धि र उतोरोतर प्रगतीको कामना पनि गर्नु भएको छ ।