भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि नेपालसँग खुल्ला सीमा जोडिएको बिहारमा पनि नयाँ प्रतिबन्ध जारी
वीरगन्ज, २१ पुस । भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि नेपालसँग खुल्ला सीमा जोडिएको बिहारमा पनि नयाँ प्रतिबन्ध जारी गरिएको छ ।बिहार राज्यभरका प्री–स्कूल र कक्षा एकदेखि कक्षा आठसम्म अनलाइन मार्फत् पढाइने छ ।यसैगरी कक्षा नौ देखि १२ सम्मका ५० प्रतिशतको उपस्थितिमा मात्रै पढाइ हुने छ ।बिहारका सिनेमा हलहरु ५० प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाइने छ भने बिहेमा पनि सहभागी हुनेहरुका लागि निश्चित संख्या तोकिएको छ ।बिहारमा नयाँ नियमहरु भोलि ६ जनवरी देखि लागू हुने र २१ जनवरीसम्म जारी रहने छ ।यस्तै भारतकै राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले सातामा शनिबार र आइतबारका दिन कर्फ्यु जारी गरिएको जानकारी दिएका हुन् ।यसअघि दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो । दिल्लीका उपमुख्यमन्त्री सिसोदियाले पत्रकार सम्मेलन गर्दै अत्यन्त जरुरी काम भएमात्रै घरबाहिर निस्किन आग्रह गर्नु भएको छ । उहाले सबै सरकारी अधिकारीहरुले घरबाटै र निजी संस्थाहरुमा पनि ५० प्रतिशत कर्मचारीहरुले घरबाट काम गर्नुपर्ने बताउनु भएको छ ।भारतमा राजधानी दिल्ली, महाराष्ट्रको राजधानी मुम्बईमा पावन्दीका बीच पनि कोरोना संक्रमण दर बढ्ने क्रम जारी छ ।संक्रमण दर बढेपछि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स अस्पतालले आफ्ना कर्मचारीहरुलाई दिइएको जाडो बिदा रद्द गरेको छ । एक सूचना जारी गरी बिदामा बसेकाहरुलाई अस्पतालमा फर्किन अस्पताल प्रशासनले निर्देशन दिएको छ ।