महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश निलम्बित, दीपक कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी



वीरगन्ज, १ फागुन । प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट स्वतः निलम्बित हुनु भएको छ । संवैधानिक निकायका प्रमुखमाथि संसदमा महाअभियोगलगायत मुद्दा दर्ता हुनेवित्तिकै स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था रहेको छ। सोहीअनुसार प्रधानन्यायाधीश जबराको निलम्बनसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम हुनु भएको छ।

। सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका १०१ जना सांसदले हस्ताक्षर गरेको महाअभियोग आज प्रतिनिधिसभामा दर्ता भएको छ। न्यायालयको शुद्धीकरणको लागि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनले आन्दोलन गर्दै आएको छ।

बारले गएको कार्तिक १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको हो। कोरोना संक्रमण तीव्र भएसँगै रोकिएको बारको आन्दोलन आजदेखि पुनः सुरु भएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश विरुद्ध महाअभियोग दर्ता भएको यो दोस्रोपटक हो। यसअघि सुशीला कार्कीविरुद्ध पनि महाअभियोग दर्ता भएको थियो। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध पनि महाअभियोग लगाइएको थियो।
यसैबिच चोलेन्द्रशमशेर राणाविरुद्ध संसद सचिवालयमा दर्ता भएसँगै यसले अरु संवैधानिक हस्तीहरुलाई खतराको घेरामा तानेको छ। छापामार शैलीमा सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले आवश्यक एकचौथाइभन्दा बढी सांसदको हस्ताक्षरको साथ महाअभियोग प्रस्ताव दर्ता गराएपछि प्रमुख प्रतिपक्षी एमाले सक्रिय ‘काउन्टर’ गतिविधिमा लागेको छ।

पार्टी उच्च स्रोतका अनुसार सर्वोच्चका वरिष्ठ चार न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, मीरा खड्का र दीपककुमार कार्कीविरुद्ध महाअभियोगको तयारी एमालेले गरेको छ। र, आजै त्यो दर्ता हुनेछ। प्राप्त सूचनाअनुसार संसद सचिवालयले केही समयमै राणालाई निलम्बन गरी कार्कीलाई कामु प्रधानन्यायाधीश मुकर्रर गर्ने तयारी गरेको छ।

यी चार न्यायाधीशसँगै एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध पनि पदअनुसार आचरण नगरेको आरोपसहित उनलाई हटाउन प्रस्ताव दर्ता गर्नेबारे पनि छलफल भइरहेको छ।
यसैबीच प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाअभियोग लागेको पत्र बुझनु भएको छ । पत्र बुझेलगत्तै उहा सर्वोच्च अदालतबाट बाहिरिनुभएको छ । सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसलगत्तै सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत् दिएको थियो ।जबरालाई विदा गर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार नारायण पन्थी गेटसम्म पुगेका थिए । जबरा घर फर्किंदा उनी चढ्ने गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपिएको थियो ।
यसैबीच प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार, भोलि बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ । सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक एमालेले बोलाएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
अन्तर्वार्ताः राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री जनार्दन शर्मा