स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै पर्सामा चुनावी सरगर्मी बढयो
वीरगन्ज, १ फागुन । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै पर्सामा चुनावी सरगर्मी बढेको छ । पर्सा जिल्लामा रहेका १४ वटै स्थानीय तहमा प्रमुख, उपप्रमुख र वडाअध्यक्षदेखि वडा सदस्यसम्मका आकांक्षीहरु अहिले आ–आफ्नो हिसाबले निर्वाचनको तयारीमा लागेका छन् ।
केहीले आफुलाई उम्मेदवार हुँ भनेर सामाजिक सञ्जालमा आफैले र आफना शुभचिन्तक मार्फत आफ्नो प्रचार गरिरहेका छन् । केही नेताले चुनावका लागि घरदैलो नै सुरु गरिसकेका छन् । चुनावको मिति घोषणासंगै पोखरिया नगरपालिकामा घरदैलो सुरु गरिसकेका लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट नगरप्रमुख पदका आकांक्षी नेजामुदिन समानीले यसपाली आफनो पक्षमा जनमत रहेको दाबी गर्नु भएको छ ।
अघिल्लो निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी राजपाबाट उम्मेदवारी दिएका समानी नेपाली जनता दलका उम्मेदवार दीपनारायण रौनियारसँग २ हजारभन्दा पनि बढीको मतान्तरले पराजित हुनु भएको थियो । तर यसपटक जनता आफ्नो पक्षमा रहेको समानीको जिकिर छ । त्यसैगरी विन्दवासिनी गाउँपालिकामा अध्यक्ष पदका दावेदार मधुसुदन चौरसियाले पनि गाउँ–गाउँमा पुगेर राजनीतिक भेटघाट र सङ्गठन विस्तारलाई तीव्रता दिनुभएको छ ।
पूर्व डीआईजी रमेश खरेलको संयोजकत्वमा गठित नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिन लागेका चौरसियाले विन्दवासिनी गाउँपालिकाको अध्यक्ष जितेर युवाले पनि नेतृत्व गर्न सक्छन भन्ने उदाहरण बन्ने दाबी गर्नु भएको छ । वीरगञ्ज महानगरको उपप्रमुखमा फेरि पनि उम्मेदवारी दिने सोच बनाएकी लोसपा नेतृ रम्भा मिश्राले पनि घरदैलो सुरु गर्नु भएको छ । वडा–वडामा पुगेर जनतासँग भेटघाट गर्नेदेखि सङ्गठन विस्तार र पार्टी भित्र छलफलमा आफु व्यस्त रहेको मिश्राले बताउनु भएको छ ।
गत निर्वाचनमा मिश्रा , नेपाली काङ्ग्रेसकी शान्ति कार्कीसँग पराजित हुनु भएको थियो । यस्तै विद्यार्थी र मधेस आन्दोलनको पृष्ठभूमि बोकेका यसवन्त यादवले पनि फेरी सखुवा प्रसौनी गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्ष पदका लागि दावेदारी दिने बताउनु भएको छ । यादवले पनि वडा भेला र संगठन विस्तारलाई तीव्रता दिनु भएको छ ।
गाउँपालिकाबासीले स्थानीय सरकार स्थापनापश्चात कुनै पनि विकासको आभाष गर्न नपाएको हुँदा असक्षम जनप्रतीनीधिको विकल्पमा जनताले युवालाई अवसर दिने यादवको दावी छ ।