बारामा स्थगीत नेपाली काँग्रेसको निर्वाचन फागुन २५ गते हुने
जय यादव
बारा,२३ फागुन । बारामा स्थगीत नेपाली काँग्रेसको निर्वाचन यहि फागुन २५ गते हुने भएको छ । हिजो बेलुकी सभापतिका उम्मेदवार र निर्वाचन समिति बिच भएको बैठकमा अस्ति स्थगीत निर्वाचन फागुन २५ गते बुधबार गर्ने निर्णय गरेको प्रमुख निर्वाचन अधिकृत राज कुमार उप्रेतीले जानकारी दिनुभयो ।
फागुन २५ गते कलैयाको सिद्धेश्वर संस्कृत मावि परिसरमा बिहान ७ बजे देखि मतदान गर्ने निर्णय भएको उप्रेतीले जानकारी दिनुभयो । यसअघि अस्ति शनिवार राति मतदान भइरहेकै बेला फर्जि मतपत्र खसेको पाइएपछि विवाद हुदा निर्वाचन नै रद्द गरि स्थगीत गरिएको थियो । काँग्रेस बाराको नेतृत्वका लागि सभापतिमा ३ जना नेताको प्रतिस्पर्धा छ ।
नेता शम्भु बुढाथोकी , राजेशराय यादव र रामानन्द यादवले आ आफनो प्यानल बनाएर उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट शम्भु बहादुर बुढाथोकी र राजेशराय यादव छन् भने शेखर कोइराला र कृष्ण सिटौला पक्षबाट रामानन्द यादवले उम्मेदवारी दिएका हुन् ।
७ पदाधिकारी सहित ८० पदका लागि २ सय २७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बाराको ४ वटा निर्वाचन क्षेत्रबाट गरि कुल मतदाता २ हजार ४ सय ८१ जना छन् ।
यसैबिच नेपाली कांग्रेसको पछिल्लो पटक अधिवेशन भइरहेका १६ जिल्लामध्ये पर्सा सहित आठ जिल्लाको सभापति चयन भएका छन् । निर्वाचित ८ मध्ये चार जिल्लामा संस्थापन समूह र चार जिल्लामा शेखर कोइराला समूहका छन् । चितवन, सिन्धुली, बाँके र नवलपुरमा शेखर कोइराला समूहका उम्मेदवार विजयी भएका हुन् ।
चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र नवलपरासीमा महेन्द्रध्वज जीसी विजयी भएका छन् । यस्तै संस्थापन समूहबाट पर्सामा जनार्दन सिंह क्षेत्री , कैलालीमा नारायणदत्त भट्ट, मकवानपुरमा बुद्ध लामा, र महोत्तरीमा नागेश्वर यादव विजयी भएका हुुन् ।कांग्रेसको १४औँ महाधिवेशनअघि नै जिल्ला अधिवेशन हुनुपर्नेमा १६ जिल्लाको हुनसकेको थिएन ।
अब सिरहा, सप्तरी, धनुषा, अछाम, रौतहट, बारा, सर्लाही र सिन्धुपाल्चोकमा अध्यक्ष चयन बाँकी छ । अहिलेसम्म ६९ जिल्लाको अधिवेशन सकिँदा ३७ जिल्लामा संस्थापन र ३२ जिल्लामा शेखर पक्षका सभापति चयन भएका छन् ।