तीन महिनामै २४ करोडको पानी निर्यात



काठमाडौँ,२३ फागुन । आयातको ग्राफ उच्च हुँदै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको तथ्यांक बाहिर आएको छ । यस्तोमा स्वदेशमा पनि उत्पादन हुने वस्तुको आयात कसरी कम गर्ने भन्दै अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीहरू दिनहुँजसो समीक्षा गरिरहेका छन् । मुलुकमा आयात हुने वस्तुका तुलनामा निर्यात नबढेको चिन्ता गर्नेहरूका लागि खुसीको खबर छ– नेपालबाट प्रशोधित पानी निर्यात बढेको छ ।
मुलुकको व्यापार घाटा कम गराउन परिमाण उल्लेख्य होइन तैपनि आयातका तुलनामा प्रशोधित पानीको निर्यात उच्च रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षको ३ महिनामा मात्र २४ करोड ३५ लाख ४५ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको छ । मंसिर, पुस, माघमा मात्र ४४ लाख ४७ हजार ५ सय ३३ लिटर पानी निर्यात भएको तथ्यांक छ । नेपाली उद्योगले प्रशोधन गरेको पानी अस्ट्रेलिया, यूएई, भारत, पोल्यान्ड, जापान, बेलायतमा निर्यात भइरहेको हो । पानी र आइस पनि आयातनिर्यात हुने गरेको विभागले जनाएको छ । गत वर्ष ६ करोड ३ लाख ८१ हजार रुपैयाँको १० लाख ९१ हजार ४ सय २८ लिटर पानी चीन, कतार र भारतमा निर्यात भएको थियो ।

चालु आर्थिक वर्षमा अन्य देशको तुलनामा सबैभन्दा बढी पानी बोटलर्स नेपालले भारतमा निर्यात गरेको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए । ‘पानीको निर्यात बढेको हो, तथ्यांकमा कुनै गडबडी छैन,’ उनले भने । प्रशोधित पानीको निर्यात क्रमिक बढ्दा आयात घट्न थालेको उनले बताए ।
आर्थिक वर्ष २०७६÷७७ मा ५ लाख २३ हजार रुपैयाँ र त्यसअघि त्यस्तै आव २०७५÷७६ मा १६ लाख ९३ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको थियो । विभागका अनुसार नेपालबाट अन्य देशमा किन्ले, एक्वाफिना, म पानी, रसुवा पानीलगायत ब्रान्डका पानी निर्यात हुन्छ । निर्यातलाई नै लक्ष्य गर्दै उद्योगहरूले अत्याधुनिक प्रशोधन प्लान्ट राखेका छन् ।

प्रशोधित पानीको निर्यात छिटपुटरूपमा १५ वर्षअघि सुरु भएको हो । विदेश निर्यातका लागि नेपाली उद्यमीले पानीको गुणस्तर पु¥याउन तयारी गरिसकेको रसुवाको गोसाइँकुण्ड–६ स्थित रुद्रगंगा प्राकृतिक पानी उद्योगका सञ्चालक गणेश भण्डारीले बताए । ‘हामीले १३÷१४ महिनामा ८० लाखको पानी बेच्यौं,’ उनले भने, ‘हाम्रो रसुवा ब्रान्ड पानी भारतबाहेकका अरु देशमा गइरहेको छ ।’

स्वदेशबाट पानी निर्यात हुन थाले पनि आयात भने रोकिएको छैन । चालु आर्थिक वर्षको ७ महिनामा २४ लाख ३१ हजार रुपैयाँ बराबरको १५ हजार २ सय २० लिटर पानी आयात भएको छ । पानीबाहेक आइस÷स्नोजन्य पदार्थ ८१ लाख १४ हजार रुपैयाँ बराबरको ७२ हजार ३ सय ७६ लिटर भित्रिएको विभागको तथ्यांक छ ।

विभागका अनुसार आव ०७५÷७६ तुलनामा भने पानीको आयात घट्दो देखिएको छ । उक्त आव २ करोड २५ लाख ४५ हजार रुपैयाँ बराबरको पानी भित्रिएको छ । आव ०७६÷७७ मा २७ लाख ५२ हजार रुपैयाँ बराबरको पानी र आइस÷स्नोजन्य पदार्थ १ लाख ७१ हजार रुपैयाँको आयात भएको छ । त्यस्तै गत आर्थिक वर्ष ९० लाख ५० हजार रुपैयाँ बराबरको पानी र ३ लाख १२ हजार रुपैयाँको अन्य आइस÷स्नो आयात भएको तथ्यांकमा छ ।शौ कान्तिपुर


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग