सरकारले चाहे तत्काल रेल चलाउन सक्छौँ महाप्रबन्धक झा



वीरगन्ज, २५ फागुन । सरकारले चाहे तत्काल जयनगर–कुर्था रेल चलाउन सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ । जयनगर–कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गएको पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनका लागि भने रेल सञ्चालनमा आएको छैन । यद्यपि नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सबै तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल चलाउन सक्ने बताउनुभएको छ ।
महाप्रबन्धक झाले रेल चलाउने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिनुभयो । महाप्रबन्धक झाले रेल्वे कम्पनीले रेल सञ्चालनका लागि भाडा निर्धारण र कानुनसमेत बनाइ सकेको बताउनुभयो । उहाँले कम्पनी नयाँ भएकाले कम्पनी स्थापित गराउनका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
महाप्रबन्धक झाले भन्नुभयो, ‘सरकारले चाहेका बखतमा हामीले रेल चलाउन सक्छौं । सरकार पनि रेल सञ्चालन गर्ने विषयमा सकारात्मक छ । मन्त्रालय पनि यो विषयमा सकारात्मक छ । रेल विभागले पनि नजिकबाट सहयोग गरिरहेको छ । पछिल्लो समय केही प्राविधिक समस्याहरू भए पनि सरकारले चाहेको खण्डमा रेल सञ्चालन गर्न सक्छौँ । रेल सञ्चालन कहिले हुन्छ भनेर नागरिकहरू उत्साहित छन् । जसरी यात्रुहरू रेल चढ्न उत्साहित हुनुहुन्छ, त्योअनुसारले रेल सञ्चालनमा आउँदा घाटामा जाँदैन ।

रेल कम्पनीले नाफा कमाउन र जनतालाई यातायातको माध्यमलाई सहज बनाउने दुई वटै भूमिका खेल्नेछ ।’ भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल चलाउनका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ । रेल खरिद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आमनागरिकको चासो बढेको छ ।

वर्षाैँदेखि बहुप्रतिक्षित रेलमा यात्रा गर्न आमनागरिक प्रतिक्षामा बसिरहेका छन् ।नेपालले भारतीय रेल्वे कम्पनी कर्पोरेशनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गरेर ल्याएको एक वर्षभन्दा बढी भएको छ । रेल खरिद गरेको एक वर्षपछि कुर्थासम्म ल्याएर गएको पुसमा परीक्षण गरेर राखिएको छ । अहिले पनि रेल जनकपुरमै त्रिपालमुनि थन्किएर बसेको छ । रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी भए पनि अहिलेसम्म मिति जुरेको छैन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान