वीरगन्जका होटलहरुको स्तरीकरणका लागि अनुगमन तथा लोगो बितरण अभियान संचालन
वीरगन्ज, २५ फागुन । वीरगन्जका होटल तथा रेस्टुरेन्टको स्तर निर्धारण गर्दै लोगो वितरण कार्य सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण मधेस प्रदेश कार्यालय जनकपुर र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जले संयुक्तरुपमा हिजोदेखि खाद्य स्वच्छताको आधारमा यहाँका होटल तथा रेस्टुरेन्टहरुको स्तर निर्धारण र लोगो वितरण थालेका हुन् ।
यहाँ स्थित क्लार्क्स रिसोर्टबाट अनुगमन थालिएकोमा उसलाई ’तीन तारे’ स्तर दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण मधेस प्रदेश कार्यालय जनकपुरका प्रमुख विजय खनालले विश्वव्यापीरुपमा अमेरिकाबाट यो प्रणाली सुरु गरिएकोमा एसिया महादेशमा नेपालले मात्र हाल यो प्रणाली अंगीकार गरेको बताउनुभयो ।
नेपालमा यो प्रक्रिया अनिवार्य नभई स्वेच्छिक भएको पनि उहाँले बताउनुभयो । वीरगन्जबाट हाल २२ होटल एवम् रेस्टुरेन्टहरुबाट स्तरीकरणका लागि निवेदन परेकोमा हिजो र आज अनुगमन गरिएको उहाँले बताउनुभयो ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले स्तरीकरण तथा लोगो वितरण कार्यक्रमले यहाँका होटल तथा रेस्टुरेन्टहरुका कमीकमजोरी घट्दै गएर उपभोक्तासँगै होटल व्यवसायी पनि लाभान्वित भएको बताउनुभयो ।