नेपाली कांग्रेस बाराको सभापति चयनका लागि दोश्रो चरणको निर्वाचन हुने
जय यादव
बारा २६ फागुन । नेपाली कांग्रेस बाराको सभापति चयनका लागि दोश्रो चरणको निर्वाचन हुने भएको छ । हिजो भएको निर्वाचनमा सभापतिका ३ जना उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापति पदका लागि फेरि दोश्रो चरणको मतदान हुने भएको हो । सभापति पदको आज बिहान सम्पन्न मतगणना अनुसार राजेश राय यादवले सबै भन्दा बढि ८३३, शम्भु बहादुर बुढाथोकीले ८०९ र रामानन्द यादवले ७०८ मत प्राप्त गर्नु भएको नेपाली काँग्रेस बाराको प्रदेश क्षेत्रका सभापति लोकश सिंहले जानकारी दिनुभयो ।
काँग्रेसको विधान अनुसार सभापतिमा निर्वाचीत हुनका लागि कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्नु पर्ने हुन्छ । तर सभापतिका ३ जना उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि अब सभापतिका लागि पहिलो चरणमा भएको निर्वाचनमा पहिलो र दोश्रो मत ल्याएका राजेश राय यादव र शम्भु बुढाथोकी बिच दोश्रो चरणमा प्रतिस्पर्धा हुने सिंहले जानकारी दिनुभयो ।
दोश्रो चरणको निर्वाचनका बारेमा निर्णय गर्न आज बिहान ११ बजे सभापतिका उम्मेवारहरुलाइ राखेर निर्वाचन समितिले छलफल गर्ने सिंहले बताउनुभयो । यसअघि हिजो कलैया स्थित श्री ३ चन्द्र मावि परिसरमा भएको पहिलो चरणको निर्वाचनमा कुल २ हजार ४ सय ९३ मत मध्ये २ हजार ३ सय ९९ मत खसेको थियो ।
यसअघि नेपाली कांग्रेस बाराको निर्वाचन, गत शनिवार करिब ५० प्रतिशत मत खसेर धाँधली भएको भन्दै स्थगित भएको थियो ।