गर्मी बढेसैगै वीरगन्जमा लामखुट्टेको बिगबिगी
वीरगन्ज, ६ चैत । गर्मी बढेसैगै वीरगन्जमा लामखुट्टेको बिगबिगी बढेकाले महानगरवासीलाइ सास्ती भएको छ । जाडो मौसममा केहि कम भएको लामखुट्टेको संख्या अहिले गर्मी बढेसंगै फेरि बढेको हो । राती मात्र नभइ दिउसै पनि लामखुट्टेले टोक्ने गरेको महानगरवासीको गुनासो छ ।
वीरगन्ज महानगरमा सजिलै पानी नबग्ने खुल्ला नाला र ढलका साथै फोहोरका कारण गर्मी मौसममा लामखुट्टेको आंतकले महानगरवासी बढि पिडित हुदै आएका छन् । लामखुट्टेको आतंक बढेको र यस बारे वडा अध्यक्षहरुलाइ पटक पटक ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाइ नभएको महानगरवासीको गुनासो छ । महानगरपालिकाको कार्यालयले पनि लामखुट्टे नियन्त्रणका लागि अहिले कुनै चासो नलिएको वीरगन्ज १० घडीअर्वाका कोदइ साह कानुले बताउनुभयो ।
यसअघि दशैंका बेला वीरगन्ज महानगरपालिकाले वडा कार्यालय मार्फत वडाहरुमा लामखुट्टे मार्ने विषादी छर्किएको थियो । तर त्यसपछि यता भने विषादी छर्किएको छैन । महागरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुदीन अन्सारीले भने अब केही दिन भित्रै लामखुट्टे मार्ने विषादी छर्कने कार्य सुरु गरिने जानकारी दिनुभयो । विषादी र उपकरण खरिद प्रकियामा रहेकोले लामखुट्टे मार्न केही ढिलाई भएको उहाले स्वीकार गर्नुभयो ।