गर्मी मौसममा सरुवा रोगको जोखिम धेरै हुने भएकाले सचेत हुन डाक्टरहरुले आग्रह
वीरगन्ज, ६ चैत । गर्मी मौसममा सरुवा रोगको जोखिम धेरै हुने भएकाले सचेत हुन डाक्टरहरुले आग्रह गरेका छन् ।जाडोको तुलनामा गर्मीको समयमा सङ्क्रामक रोगको जोखिम धेरै हुने भएकाले स्वास्थ्यको ख्याल गर्न डाक्टरले सुझाव दिएका हुन् । गर्मी मौसम सुरु भएपछि भाइरल ज्वरो लगायतका स्वास्थ्य समस्या देखिने गरेको छ ।
वीरगन्ज सहित देशका विभिन्न अस्पतालमा अहिले रुघाखोकी, ज्वरो, टाउको दुख्ने, पेट दुख्ने लगायतका समस्या भएका बिरामी बढ्न थालेका छन् । डाक्टर उदयनारायण सिंहका अनुसार गर्मीमा टाइफाइड र झाडापखालाको जोखिम धेरै हुन्छ ।डाक्टर सिंहले दूषित पानी र खानाका कारण सरुवा रोग फैलने खतरा गर्मीमा धेरै हुने बताउनुभयो ।
सरुवा रोगको जोखिमबाट बच्न व्यक्तिगत सरसफाइका साथै खानपिनमा ध्यान दिन डाक्टर सिंहको सुझाव छ ।सडक आसपासमा बेच्न राखेका खानेकुरा नखाइ घरभित्रै बनाइएको स्वस्थ खाना खाए र शुद्धीकरण गरेको पानी पिउने गरे सरुवा रोगबाट बच्न सकिने डाक्टरले बताएका छन् ।