पर्सामा म्यादी प्रहरीमा भर्ना हुनेहरुको भिड
वीरगन्ज, ६ चैत । जिल्ला प्रहरी कार्यालय पर्सामा म्यादी प्रहरीमा भर्ना हुनेहरुको भिड लागेको छ । नेपाल प्रहरीले आजदेखि म्यादी प्रहरीमा भर्नाका लागी आवेदन खुला गरेपछि भिड लागेको हो । जिल्लाका ग्रामिण र शहर क्षेत्रका युवाहरु दर्खास्त दिन पुगेको पर्सा प्रहरीले जनाएको छ । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने छन ।
फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने छ । ११ चैतसम्म आवेदन दिनेहरुले आवदेन दिएकै ठाउँमा १३ गते सम्पर्क गर्नु पर्ने छ ।
१५ गतेदेखि शारीरिक परीक्षण गरेपछि २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ । उनीहरुलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ । पर्सा प्रहरीका अनुसार म्यादी प्रहरीका लागि महिनाको २२, हजार ६८० रुपैया खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४ हजार ४४० रुपैयाँ पाउने छन् । उनीहरुको बीमालगायतका अन्य सुविधा पनि हुने छ ।