मधेस प्रदेशमा २१ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने लक्ष्य, एकैदिन ६ हजार बढीले आवेदन फाराम भरे
वीरगन्ज, ७ चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशमा २१ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने लक्ष्य अनुसार आवेदन माग आह्वान भएपछि हिजो एकैदिन ६ हजार बढीले आवेदन फाराम भरेका छन् । स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेकोमा मधेस प्रदेशमा २१ हजार ६९८ जनालाई माग गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशको ३ वटा जिल्लामा ३ हजारभन्दा बढी म्यादी प्रहरीको भर्ना गरिँदैछ। धनुषामा सबैभन्दा बढी ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिनेछ।
सप्तरीमा ३ हजार १३९, सर्लाहीमा ३ हजार ८८, महोत्तरीमा २ हजार ७३६, रौतहट २ हजार ५८९, बारा २ हजार ५२८, सिरहामा २ हजार ३३१ र पर्सामा १ हजार ८०१ जना म्यादी भर्ना गरिने दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। म्यादी प्रहरी भर्नाका लागि हिजो पहिलो दिन पर्सा सहित आठ वटै जिल्लाबाट ५ हजार २१४ जनाले दरखास्त भरेका छन्।
म्यादी प्रहरीको ४० दिनको जागिरका लागि चैत ११ गतेसम्म दरखास्त दिने समय निर्धारण गरिएको छ र दरखास्त दिनका लागि आजपनि बिहानैबाट प्रहरी कार्यालय अगाडि सर्वसाधारणहरुको भीड लागेको छ ।