लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल नेकपा एमालेमा प्रवेश
दिपेन्द्र साह
वीरगन्ज, ८ चैत । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल आज नेकपा एमालेमा प्रवेश गरेका छन । काठमाडौंमा आज एक बिशेष कार्यक्रमका बिच पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टिका लगाई पार्टी प्रवेश गरेका हुन । पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेसका नेताहरुलले अब मधेशले पहिचान होइन समृद्धि खोजेको बताए ।
तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव तथा हाल लोसपाका नेता शिव पटेलले समृद्धिको नेतृत्व एमालेबाट मात्र सम्भव भएकाले आफू एमालेमा प्रवेश गरेको बताए । केपी ओलीमा मुलुक बनाउने हुटहुटी देखेकाले देश बन्यो भने मधेस पनि बन्छ भनेर आफूहरु मधेसवादी दल त्याग्ने निष्कर्षमा पुगेको बताए ।
पटेलले भने– मधेसले पहिचान खोजेको छैन अब समृद्धि खोजेको छ,समृद्धिको नेतृत्व एमालेमात्र गर्छ । ओलीको मन्तव्य सुनिरहन्छु अब देश बनाउने जिम्मा नेकपा एमालेको काँधमा छ भन्ने लाग्यो । देश बन्यो भने मधेस पनि बन्छ । हामीजस्ता कार्यकर्ताको मनोबल पनि उच्च हुन्छ । अब बाँकी जीवन एमालेमा समर्पित गरेको छु ।
सो अवसरमा एमालेका केन्द्रिय सदस्य एवं संबिधान सभा सदस्य राजकुमार गुप्ता,प्रदेश कमिटी सदस्य बसरुदिन अंसारी, नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जारा, वीरगंजका मेयर बिजय सरावगी लगायतको उपस्थिती रहेको थियो । आजै पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रमबीच सिंहले पार्टीलाई एमालेमा समाहित गराएका हुन् ।सोही कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, , माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव रामेछापका नाम्गेल शेर्पा लगायत एमाले प्रवेश गरेका छन् ।