स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरुले मधेस प्रदेश केन्द्रित कार्यक्रम गर्दौ
वीरगन्ज, ८ चैत । स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरुले मधेस प्रदेश केन्द्रित कार्यक्रम गर्न थालेका छन् । मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिन थालेका हुन् ।
धेरैजसो स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ–गाउँ पुगेका छन् ।
मुख्य राजनीतिक दलको ध्यान अहिले उम्मेदवार छनोटदेखि मतदाता रिझाउनमा केन्द्रित रहेको छ । पार्टी विभाजनपछि मधेस प्रदेशमा खस्किएको आफ्नो साखलाई आउँदो चुनाव मार्फत फर्काउने उद्देश्यका साथ एमालेले पनि मधेस प्रदेशका आठवटै जिल्लामा चुनावलक्षित कार्यक्रमलाई अगाडि बढाएको छ ।
त्यस्तै माओवादी केन्द्रले नगर तथा गाउँपालिकामा जनवर्गीय सङ्गठन गठनलाई तीव्रता दिनुका साथै नेता कार्यकर्तालाई गाउँगाउँमा खटाएको छ । पार्टी विभाजनबाट बनेको नेकपा (एकीकृत समाजवादी)ले पनि चुनावी गतिविधि अघि बढाएको छ । स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते हुँदैछ ।