पर्सामा ६ महिनामा ५ सय ८२ जनामा क्षयरोगको संक्रमण पुष्टी
वीरगन्ज, १० चैत । पर्सामा ६ महिनामा ५ सय ८२ जना नयाँ क्षयरोगी पत्ता लागेका छन् । साउनदेखि पुस मसान्तसम्म खकार जाँच गराएकाहरु मध्ये ५ सय ८२ जनामा क्षयरोगको संक्रमण पुष्टी भएको हो । जसमध्ये सर्ने खालको ३ सय २८, कम सर्ने खालको ९३ र फोक्सो बाहेक अन्य भागमा क्षयरोग लागेका १६१ जना छन् ।
खोकी लागेर आफैं खकार जचाउन आएका ९८ जना, निजी स्वास्थ्य संस्थामा क्षयरोग पुष्टी भएका २ सय ६० जना, सामुदायिक अभियानबाट १ सय ६३ जना र कन्ट्याक्ट ट्रेसिङबाट ६१ जनामा क्षयरोग संक्रमण पुष्टी भएको थियो । ३४ जनाले चुरोट सेवन गर्ने गरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार उनीहरुले १ सय ५ वटा डट्स केन्द्रबाट नेपाल सरकारले प्रदान गर्ने औषधि निःशुल्क सेवन गरिरहेका छन् । टीबी एचआईभी सहसंक्रमणको जोखिम हुन्छ । पर्सामा ७७ जना महिला सहित २ सय १९ जना एचआईभी संक्रमितको खकार जाँच गर्दा १ जनामा क्षयरोग संक्रमण पुष्टी भएको थियो ।
स्वास्थ्य कार्यालय पर्साका क्षयकुष्ठ अधिकृत विनोद झाका अनुसार निको हुने दर ९१ प्रतिशत छ । गत वर्षको पछिल्लो छ महिनामा १ सय ९४ जना क्षयरोगी फेला परेकोमा १ सय ८७ जना निको, ९ जनाको मृत्यु, १ जनाको फेरि उपचार गर्नुपरेको र ५ जनाले नियमित औषधि नखाएकोले फेरि औषधि खुवाउनुपर्ने अवस्था आएको छ ।