नेपाल विद्युत् प्राधिकरणले आजदेखि सबै उद्योगलाई बिजुली दिने



वीरगन्ज, १० चैत । नेपाल विद्युत् प्राधिकरणले आजदेखि सबै उद्योगलाई बिजुली दिने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा एकाएक कोइलाको भाउ बढ्दा नेपालमा पनि समस्या परेको तर यसको समाधान गर्ने बताउनुभयो । आफूहरुले महँगोमा किनेर भए पनि लोडशेडिङ हुन नदिने भन्दै उहाँले घरायसी ग्राहक, साना र ठूला कुनै पनि उद्योगमा लोडशेडिङ नहुने स्पष्ट पार्नुभयो ।

भारतले कोइलाबाट उत्पादन भएको बिजुली मात्रै नेपालमा निर्यात गर्ने नीति बनाएको छ, अहिले रुस–युक्रेन युद्धका कारण भारतमा कोइलाको भाउ बढ्दा नेपालले बिजुली महँगोमा किन्नुपरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । यसअघि भारतबाट अधिकतम औसत तीन भारुमा बिजुली किन्दै आएकोमा अहिले आकस्मिक समस्या आएको बताउनुभयो ।

यसैबीच मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत् लाइन काटिएको छ ।

मधेस प्रदेशका आठवटै जिल्लामा रहेको वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन कट्टा गरी ६४ करोड ३५ लाख रुपैयाँ महसुल सङ्कलन गरिएको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिनुभयो ।लाइन कट्टा गरिएकामध्ये नौ हजार ७१४ जनाले पुनः लाइन जडान गरेको र त्यसबाट ४२ करोड ९२ लाख ३९ हजार १९० रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख ठाकुरले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग