प्रतिबन्धित लागु औषधसहित बाराबाट १ जनालाई पक्राउ
वीरगन्ज, ११ चैत । बारामा प्रहरीले प्रतिबन्धित लागु औषधसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुर निवासी २० वर्षीय मिथिलेश कुमार मण्डल रहेका छन् । बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका १ तिनकुने चोकबाट प्रहरीले चेकजाँच गर्ने क्रममा सर्लाहीबाट काठमाण्डौं जादै गरेको ना ७ ख २६८१ नम्बरको बसबाट फेनारगन १ हजार ७ पिस, नुरफिन ९ सय ८६ पिस र डाईजेपाम ९ सय ९७ पिस सहित मण्डललाइ पक्राउ गरेको हो ।
यस्तै बैंकिङ् कसूर मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ निवासी ६८ वर्षीय कृष्ण बहादुर थापालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका ८ घर भई जितपुर सिमरामा बस्दै आएका थापालाई उच्च अदालत पाटनले दोषी ठहर गर्दै १ वर्ष कैद र १ करोड २५ लाख बिगो बापतको जरिवाना सुनाएको थियो ।
उक्त रकम दाखिला नगरी फरार रहेका थापालाई विशेष सूचनाको आधारमा प्रहरीले बाराबाट पक्राउ गरेको हो । उक्त फैसला कार्यन्वयनका लागि थापालाई जिल्ला प्रहरी कार्यालय बाराको सहकार्यमा काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।