स्थानीय तहको निर्वाचनलाई लक्षित गरि भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा सशस्त्र प्रहरीको उच्च निगरानी
वीरगन्ज, १३ चैत । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ । आसन्न निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाइएको पर्साका सशस्त्र प्रहरी उपरिक्षक गणपति तेजप्रसाद पोखरेलले बताउनुभयो ।
उहाले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताउनुभयो । सशस्त्र प्रहरी मातहतका सबै युनिटलाई आवश्यकताअनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको भन्दैसशस्त्र प्रहरी उपरीक्षक पोखरेलले सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको बताउनुभयो ।
पर्सा जिल्लामा सशस्त्र प्रहरी बलको पाँच वटा सुरक्षा बेस क्याम्प, १७ वटा बोर्डर आउट पोष्ट र तीनवटा सीमा निगरानी पोष्ट एफओवी रहेका छन् ।सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा हातहतियार ओसारपोसार नियन्त्रण गर्ने मुख्य योजना रहेको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको भनाइ छ ।