जिल्ला प्रशासन कार्यालय पर्साद्वारा इजाजतप्राप्त हतियार बुझाउन सूचना जारी
वीरगन्ज, १४ चैत । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा रहेको इजाजतप्राप्त हतियार बुझाउन सूचना जारी गरेको छ। प्रशासनले हिजो सूचना जारी गर्दै चैत मसान्तसम्म जिल्लामा रहेका इजाजतप्राप्त हतियार नजिकको प्रहरी इकाइमा बुझाउन अनुरोध गरेको हो। वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि जिल्लामा रहेको इजाजतप्राप्त हतियार बुझाउन सूचना जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।
यसरी बुझाइएका हतियार सुरक्षितका साथ राखी पछि हतियारधनीलाई नै फिर्ता दिइने उहाँले बताउनुभयो । निर्धारित समयभित्र अटेर गरी हतियार नबुझाए त्यस्ता व्यक्तिको हतियार खोजतलास गरी कानुनबमोजिमको कारबाही प्रक्रिया अघि बढाइने ढकालले बताउनुभयो ।