चितवन राष्ट्रिय निकुञ्जमा साउनदेखि फागुनसम्म १५२ वन्यजन्तु मरे
चितवन १४ चैत । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार साउनगतेदेखि फागुन मसान्तसम्म ३२ वटा गैँडा मरेका छन् । दुई वटा तस्करीले मारेका हुन् भने बाँकी प्राकृतिक कारणले मरेका हुन् ।
यस्तै अर्ना १०, बाघ २, रतुवा ३, मगर गोही दुई, जरायो ९, बँदेल दुई, सर्प दुई, अजिङ्गल दुई, लघुना चार, चखेवा दुई मरेका छन् । यसैगरी भालु, चितुवा, हात्ती, बकुल्ला, कछुवा, गौरीगाई, निलगाई, मलाहा बिरालो, गोहोरो, दुम्सी, पानीहाँस र बाँदर एक–एक वटा मरेका छन् ।तिवारीका अनुसार गैँडाबाहेक अन्य वन्यजन्तु प्राकृतिक कारणले मरेका छन् ।
अधिकांश बाघका आहारा प्रजाति भएका कारण कतिपयलाई बाघले मारेको हो । वन्यजन्तु, बुढो भएर, दलदलमा फसेर, भिरबाट लडेर, एक आपसमा जुधेर, शक्तिशाली जनावरले कमजोरलाई आक्रमण गरेर मर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।