शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइने



वीरगन्ज, २२ चैत । सरकारले अगामी शुक्रबारदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप (कन्ज्युगेट भ्याक्सिन) दिने भएको छ । आज परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गर्दै आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ । खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोपकेन्द्र सबैको तयारी पुरा भइसकेको महाशाखाले जनाएको छ ।

सरकारले १५ महिना देखि १५ वर्षमुनिका झण्डै ७५ लाख बालबालिका लागि खोप दिने लक्ष्य राखेको छ । टाइफाइड विरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिन लागिएको हो । सो अभियान पश्चात नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि प्रयोग गरिने छ । यो सँगै नेपालमा बालबालिकालाई दिइने नियमित खोपको संख्या १३ पुग्नेछ । परिवार कल्याण महाशाखाका अनुसार विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जनामा टाइफाइड पुष्टि भएको पाइएको छ ।

विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खानाजन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये टाइफाइड रोग चौथोमा पर्ने देखिएको छ । टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेख्य कमी ल्याउन सकिने पुष्टि भएको भन्दै राष्ट्रिय खोप सलल्लाहकार समितिले १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो । विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ ।

यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र नेपाल हो ।टाइफाइड साल्मोनेला टाइफीको संक्रमणबाट हुने गम्भीर रोग हो । जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ ।

यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुने हुन्छ ।खोप अभियानका क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ । विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र संचालन गर्ने महाशाखाले जनाएको छ । करिब १० हजार स्वास्थ्यकर्मी र अभियानमा १ लाख १२ हजार ८५८ जना स्वयंसेवक परिचालन हुनेछन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग