निर्वाचन आचारसंहिता पालना गर्ने दलहरूको प्रतिबद्धता
काठमाडौं,२२ चैत । आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।स्थानीय तह चुनावमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलसँग निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउनका लागि आज आज छलफल गरेको थियो ।
छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।चुनाव आचारसंहिता आयोगले राजनीतिक दलहरूबाट प्राप्त सल्लाह, सुझावलाई समेत समेट्दै ऐन, कानुन र संविधानअनुसार बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै त्यही आचारसंहितामा दलहरूलाई हस्ताक्षर गराइएको उहाँले जानकारी दिनुभयो ।
बैठकको सुरुमा नै आचारसंहिता पालना गर्नका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेसँगै केही राजनीतिक दलहरूले छलफलविनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए । तर प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताको बारेमा प्रष्ट पारेसँगै दलहरू असन्तुष्टिकै बीच हस्ताक्षर गर्न तयार भएका थिए ।
छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न नेपाली कांग्रेस पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । आचारसंहिता अक्षरशः पालना गरिने उहाँको भनाइ छ । नेकपा ९एकीकृत समाजवादी० का महासचिव बेदुराम भुसालले आफ्नो पार्टी निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्न तयार रहेको बताउनुभयो । निर्वाचन आयोगले स्थानीय तह चुनावलाई सभ्य बनाउनका लागि राजनीतिक दलहरूलाई प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ ।