ठाकुर राम बहुमुखी क्याम्पसमा विद्यार्थी भर्नाको नाममा फर्जी रसीद काटिएको फेला
वीरगन्ज, २४ चैत । वीरगन्जमा रहेको ठाकुर राम बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोतर तहको विद्यार्थी भर्नाको नाममा फर्जी रसीद काटिएको फेला परेको छ । वीरगन्ज निवासी धर्मेन्द्र मिश्राले क्याम्पसकै नगदी रसिद जस्तो फर्जी रसिद छपाएर विद्यार्थी भर्ना गरेको फेला परेको हो ।
राजनीतिक दलको आडमा मिश्राले विगत लामो समयदेखि क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा बाहिरका विद्यार्थीको भर्ना गरी रकम उठाउँदै आएका छन् । मिश्राले दिएको फर्जी रसिद भएपनि क्याम्पसको आधिकारिक रसिद नभएकाहरुले क्याम्पसमा ईन्ट्र नपाएपछि यो घटना बाहिरिएको हो ।
प्रशासन शाखाका कर्मचारीहरुकै मिलोमतोमा उनले क्याम्पसको जस्तै रसिद छपाएर करिब ८० जनालाई भर्ना गरेको रसिद दिएको स्रोतले जनाएको छ । मास्टर डिग्रीका विद्यार्थीहरुको थेथिस बुझाउनेलाई नगदी रसिद काटेर दिएको र स्नातक तहमा केहि विद्यार्थीहरुलाई भर्ना गरेको क्याम्पस स्रोतको दाबी छ । ठाकुर राम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेश प्रसाद चौरसीयाले क्याम्पसको रसिद छपाएर भर्ना भएको कुरा जानकारीमा आएको स्वीकार गरेका छन् ।
चौरसीयाले क्याम्पस प्रमुखको संयोजकत्वमा लेखा प्रमुख गुन्जन सिंह र परीक्षा शाखा प्रमुख मोहन यादव सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् । क्याम्पसको रसिद कसले र किन दुरुपयोग ग¥यो भन्ने विषयमा समितिले छानबिन गरेपछि सत्यतथ्य जानकारी गराईने उहाँले बताउनुभयो ।