नयाँ बर्ष नजिकिएसँगै चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा पर्यटकको चहलपहल सुरु



चितवन, ३० चैत । नयाँ बर्ष २०७९ नजिकिएसँगै चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा पर्यटकको चहलपहल बढेको छ । देशका विभिन्न ठाउँबाट सौराहा घुम्न चाहनेहरुले होटलका कोठा बुक गर्न थालेका क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ५० प्रतिशत जति होटलका कोठाहरु बुक भइसकेका छन् । सौराहामा होटल बुक गर्नेमा नयाँ वर्ष मनाउन चाहने नेपालीहरु नै छन् । काठमाडौं, पोखरा, वीरगञ्ज, मकवानपुर, बुटवललगायतका ठाउँबाट आन्तरिक पर्यटकहरुले होटल बुक गरेका छन् ।गएको मंसिरमा नेकपा एमालेको महाधिवेशन भएपछि सौराहाका होटलमा पर्यटकको खासै अभाव नभएको उहाँको भनाइ छ । सौराहामा ११८ होटल छन् । सौराहामा वाइल्डलाइफ टुरिजम हेर्न पर्यटकहरु आउने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज, विभिन्न मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा वन्यजन्तुका विभिन्न गतिविधि हेर्न सौराहामा पर्यटक बढी मात्रामा आउने गर्दछ ।
सौराहामा गत फेब्रुअरि २ मा तोकिएको फुड फेस्टिबल नयाँ वर्षको अवसरमा गरिने भएको छ । त्यतिबेला कोरोना महामारीका कारण स्थगित गरिएको फेस्टिबलको १६ औं संस्करण नयाँ वर्षको अवसरमा गरिने फेस्टिबल संयोजक ध्रुव गिरीले बताउनुभयो ।रेस्टुरेन्ट एन्ड बार एशोसिएशन नेपाल (रेबान) सौराहाको आयोजनामा चैत ३० देखि वैशाख २ गतेसम्म फूड फेस्टिवल हुनेछ । कोरोना महामारीपछि गति लिन थालेको सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउन फेस्टिबल आयोजना गर्न लागिएको हो ।फेस्टिबलमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार रहनेछन् । यो संस्करणको मुख्य आकर्षणमा विभिन्न जातजाति, आमा समूहलगायत अन्य संघसंस्थाको झाँकी प्रदर्शन तथा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने रेबान सौराहाका अध्यक्ष गिरीको भनाइ छ ।कार्यक्रम अवधिभर कार्यक्रम स्थलदेखि सौराहा ड्यामसम्म हरेक दिन बेलुका जनजातिको झाँकी प्रदर्शन गरिने छ । फेस्टिबलमा दैनिक २० हजारसम्म दर्शक आउने र ३ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकले अनुमान गरेको छ । रेबान महिला समूह र क्षेत्रीय होटल संघ नेपाल, चितवन सहआयोजक रहेको फेस्टिवल सम्पन्न गर्न ६० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने आयोजकले बताएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग