भारतमा कोरोना भारइस संक्रमणको चौथो लहरको संकेत देखिन थाल्यो
वीरगन्ज ,६ वैशाख । भारतमा कोरोना भारइस संक्रमणको चौथो लहरको संकेत देखिन थालेको छ । भारतमा एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन संक्रमितको संख्या १ हजार १ सय ५० रहेको थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् ।
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ । उत्तर प्रदेशमा तीन दिनमै २ सय नयाँ संक्रमित भेटिएपछि मुख्यमन्त्री योगी आदित्यनाथले संक्रमणको पछिल्लो अवस्थाबारे हिजो समीक्षा बैठक गर्नु भएको थियो । बैठकपछि उहाले गौतमबुद्ध नगर, गाजियावाद, हापुड, मेरठ, बुलंदशहर, बागपत र लखनउमा सार्वजनिक स्थानमा मास्कलाई अनिवार्य गर्न निर्देशन दिनुभयो ।
उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा १३५ जना नयाँ संक्रमित भेटिएका छन् भने एक जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ६९५ छ । केन्द्रीय राजधानी दिल्लीसँगैको गाजियावादका १२ स्कुलमा पनि संक्रमित भेटिएका छन् । त्यहाँ स्थानीय प्रशासनले जुन १० सम्म कुनै पनि सभा, सम्मेलन, जुलुस नगर्न निर्देशन जारी गरेको छ ।