पर्सा जिल्लामा एक हजार दलित बालबालिका अहिले पनि विद्यालय जानबाट वञ्चित



वीरगन्ज ,६ वैशाख । पर्सा जिल्लामा एक हजार दलित बालबालिका अहिले पनि विद्यालय जानबाट वञ्चित रहेका छन् । पिस फर नेपाल दलित पर्साका अध्यक्ष मनोज रामले पर्सा जिल्लामा रहेका करीब १० हजार दलित बालबालिका अहिले विद्यालयमा अध्ययनरत रहेका तर एक हजार बालबालिका अहिले पनि विद्यालय जानबाट वञ्चित भएको बताउनुभयो । उहाँले पिस फर दलित फाउन्डेशन पर्साले विद्यार्थी भर्नाको लागि आगामी जेठ १५ गतेदेखि तीस दिने अभियान सञ्चालन गर्ने र विद्यालयबाहिर रहेका दलित बालबालिकालाई विद्यालयमा भर्ना गराउने अभियान शुरू गर्ने बताउनुभयो ।

उहाँले यसका लागि अहिलेदेखि नै तयारी शुरू भएको जानकारी गराउनुभयो । अध्यक्ष रामले पर्सा जिल्लामा भर्ना हुने दलित विद्यार्थीमध्ये १० प्रतिशत मात्र विद्यालयमा टिक्ने हुँदा एसइईसम्म नगन्यरूपमा उनीहरूको प्रतिनिधित्व हुने गरेको बताउनुभयो । आर्थिक समस्या र परिवारका सदस्यहरू शिक्षित नभएका कारण दलित बालबालिकाका अभिभावकहरूले ५–७ कक्षामा अध्ययन रहँदैको अवस्थामा बालबालिकाहरूलाई विद्यालयबाट निकालेर रोजगारमा संलग्न गराउने गरेको रामले बताउनुभयो ।

अहिलेसम्मको तथ्याङ्क अनुसार कक्षा १ मा ५० जना विद्यार्थी भर्ना हुने गरेकामा पाँचदेखि सात कक्षासम्म १० प्रतिशत मात्र टिकाउ हुने र एसइई परीक्षा दिने क्रममा एक÷दुई जनाभन्दा बढी नहुने गरेको रामको भनाई छ । अध्यक्ष रामले एसइई दिने एक÷दुई जना पनि कम ग्रेडमा उत्तीर्ण हुँदा छात्रवृत्तिको लागि उनीहरूको उपस्थिति कमजोर हुने गरेको बताउनुभयो ।

सरकारले कक्षा १० सम्म सबै प्रकारले निश्शुल्क शिक्षाको व्यवस्था गरे पनि कापी, पेन, पोशाकलगायतका सामग्रीहरूको अभावमा दलित बालबालिकाहरूको शिक्षामा पहुँच बढ्न नसकेको उहाँले बताउनुभयो । गत स्थानीय निर्वाचनपछि पालिकाहरू आर्थिकरूपमा सम्पन्न भएपनि उनीहरूले दलित बालबालिकाहरूलाई शिक्षातर्फ आकर्षित गर्ने कार्यक्रम नल्याएको रामको गुनासो छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण