विश्वमा गौरी गाईको संख्या घटे पनि पर्सा राष्ट्रिय निकुञ्जमा भने बृद्धि
वीरगन्ज ,९ वैशाख । पर्सा राष्ट्रिय निकुञ्जमा गौरी गाई (गौर) को संख्या बढेको छ । २०७३ सालको गणनामा १०५ रहेका गौरी गाईको संख्या बढेर अहिले १६४ पुगेको हो । गौरी गाई संरक्षित सूचीको वन्यजन्तु हो । निकुञ्जका सूचना अधिकारी सन्तोष कुमार भगतका अनुसार कूल १६४ मा १३१ वयस्क, १७ अर्धवयस्क र १६ बच्चा गौरी गाई छन् ।
वन्यजन्तु सप्ताहको अवसर पारेर निकुञ्जले ४ गतेदेखि ६ गतेसम्म निकुञ्जको सबै भागमा गौरी गाईको गणना गरेको थियो । गणनाका लागि निकुञ्ज र नेपाली सेना गरी १ सय २० जना खटिएका थिए । गणनाका लागि हात्ती प्रयोग गरिएको थियो । चुरेको फेद–घाँच, पानीका घोल–पोखरी भएका क्षेत्र, बाक्लो घाँसे क्षेत्र गौरी गाईको मुख्य बासस्थल हो ।
समूहमा बस्न रुचाउने गौरी गाईका बच्चालाई बाघले सिकारमा समेत प्रयोग गर्ने गरेको छ । सिङका लागि अवैध सिकार हुन थालेपछि आईयूसीएनले सन् १०९६ पछि गौरी गाईलाई खतराको सूचीमा राखेको छ । विश्वमा गौरी गाईको संख्या ७० प्रतिशतले घटिरहेको आईयूसीएनले उल्लेख गरेको छ ।