एसईई परिक्षा आज देखि शुरु , पर्सामा ९ हजार ५८ जना विधार्थी परीक्षामा सहभागी
वीरगन्ज ,९ वैशाख । माध्यामिक शिक्षा परीक्षा एसईई आज देखि शुरु भएको छ । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको एसइइ परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गरेको हो । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा परिक्षा बोर्डले एसइइको नतिजा सार्वजनिक गरेको थियो ।
पर्सामा यस वर्ष तीन जना बालसुधार गृहका बालक सहित ९ हजार ५८ जना विधार्थीले परीक्षामा सहभागी भएको पर्साका शिक्षा विकास समन्वय इकाई प्रमुख फत्ते बहादुर श्रेष्ठले जानकारी दिनुभयो । त्यसमध्ये नियमिततर्फ ८ हजार ६ सय ९१ जना, प्राविधिक तर्फ २ सय ९ जना र ग्रेडवृद्धिका १ सय ५३ जना रहेका छन् । छात्र ४ हजार ८ सय ४७ र छात्रा ४ हजार १ सय ८९ जना गरी कुल ९ हजार ५८ जनाले परीक्षा फाराम भरेको इकाई प्रमुख श्रेष्ठले बताउनुभयो ।
पर्सामा वीरगन्ज महानगरपालिकामा १४ वटा र महानगर बाहिरका नगरपालिका र गाउँपालिकाहरुमा ११ वटा गरि कुल २५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो । परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । यस वर्षको परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षामा देशभरबाट ११ हजार ६१५ विद्यालयका नियमिततर्फ एक लाख ५७ हजार ९१४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थीले परिक्षा फारम भरेका थिए । दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारतर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी छन् ।
परीक्षामा सबैभन्दा कम मनाङका ४३ विद्यार्थी छन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि सहभागी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।