स्थानीय तहको निर्वाचनमा ठोरी गाउँपालिकामा २७ पदका लागि १ सय १७ जना उम्मेदवार



वीरगन्ज ,१३ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा ठोरी गाउँपालिकामा २७ पदका लागि १ सय १७ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । वैशाख ११ र १२ गते दुई दिनमा गापा अध्यक्ष , उपाध्यक्ष , वडाध्यक्ष र वडा सदस्य पदमा प्रतिस्पर्धा गर्न १ सय १७ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वैशाख ३० गते हुने निर्वाचनका प्रतिस्पर्धा गर्न नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा, नेकपा(एस) तथा स्वतन्त्र सहित ११ जनाले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका छ्न।

गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट लाल बहादुर श्रेष्ठ, नेपाली कांग्रेसबाट बृहस्पति कृष्ण श्रेष्ठ, नेकपा माओवादीबाट पदमलाल श्रेष्ठ, जसपाबाट बिष्णु लोप्चन, लोसपाबाट खडग बहादुर श्रेष्ठ, राप्रपा बाट दल बहादुर कार्की र नेकपा(एस) बाट गंगा बहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन भने नातिकाजी सुनार , रुप बहादुर श्रेष्ठ, रत्न तामाङ र मोहन मगरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको ठोरीका निर्वाचन अधिकृत शिवराज न्यौपानेले जानकारी दिनुभयो । गापा अध्यक्षमा पुरुष उम्मेदवार उठाएका सबै दलले उपाध्यक्षमा भने महिला उठाएका छन् । ठोरी गापाको उपाध्यक्ष पदमा मुख्य चार दलले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने गरि महिला उम्मेदवार उठाएका छन् । गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट चिनमाया लामा, एमालेबाट गोकुली रेग्मी, माओबादी केन्द्रबाट निरु तामाङ, जसपाबाट धना पण्डितले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालय ठोरीले जनाएको छ ।

माओवादीबाट उपाध्यक्ष उठेकी तामाङ केहि समय अगाडि एमाले त्यागेर माओवादी प्रवेश गरेकी उम्मेदवार हुन् भने जसपाबाट उपाध्यक्ष उठेकी धना पण्डित हालसालै माओवादी केन्द्र त्यागेर जसपा प्रवेश गरेकी उम्मेदवार हुन् । ५ वटा वडा रहेको ठोरी गापामा नेकपा एमाले , नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीले सबै वडामा वडाध्यक्ष पदमा उम्मेदवार उठाएको छ भने नेकपा माओवादी केन्द्रले वडा नं. १ बाहेक अन्य वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिएको छ । उसले ३ सदस्य लिदै वडा १ मा काङ्ग्रेसका वडाध्यक्ष उम्मेदवार नवराज फुँयाललाई सघाउने गरी गठबन्धन गरेको नेपाली काङ्ग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडा १ मा दलित महिला सदस्य सहित ३ जना उम्मेदवार माओवादी केन्द्रका र महिला सदस्य र वडा अध्यक्षमा काङ्ग्रेसका उम्मेदवारलाई एक अर्काले सघाउने गरि गठबन्धन गरिएको हो ।

सोही वडामा एमालेबाट धनमान थापा(राजेश) र जसपाबाट राम प्रकाश कुंवरले उम्मेदवारी दिएका छ्न । जसपाका उम्मेदवार कुँवर केहि दिन पहिलेमात्र माओवादी केन्द्र त्यागेर जसपा प्रवेश गरेका निवर्तमान वडाध्यक्ष समेत हुन् । वडा नं. २ मा माओवादीबाट यादवराज कुंवर, एमालेबाट नर बहादुर क्षेत्री, कांग्रेसबाट अमृतकृष्ण सापकोटा तथा जसपाबाट केशव पन्तको वडाध्यक्ष पदमा उम्मेदवारी परेको छ । यस्तै जसपाका उम्मेदवार पन्त काङ्ग्रेस त्यागेर जसपाबाट टिकट हात पार्न सफल उम्मेदवार हुन् । यस्तै टिकट वितरणमा असन्तुष्ट सो वडाका नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताले बागी उम्मेदवारका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । वडाध्यक्ष पदमा एमालेका देबजंग पण्डित र काङ्ग्रेसका अर्जुन ब. बस्नेतले बागी उम्मेदवारी दिएका हुन् ।

वडा नं. ३ को वडाध्यक्षमा माओवादीले निवर्तमान वडाध्यक्ष सुर्य लामालाई दोहो¥याएको छ भने कांग्रेसबाट पन्नालाल बिष्ट र एमालेबाट यस अघिका उम्मेदवार शम्भु खड्का उठेका छन् । यस्तै सो वडामा राप्रपाबाट राम बहादुर खड्का, जसपाबाट भिम बहादुर पाख्रीन र स्वतन्त्रमा रामकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार श्रेष्ठ माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी उठेका हुन् । उता वडा नं. ४ मा जसपाका राम बहादुर पाख्रीन बाहेक तीनवटै मुख्य दलले युवा उम्मेदवारहरुलाई वडाध्यक्षमा उठाएको छ ।

एमालेबाट मान बहादुर थिङ(रोकेन), कांग्रेसबाट टीकाराम (हिरा) श्रेष्ठ, माओवादीबाट उम्मेदवार बनेका सागर लामा तीनैजना ३५ वर्षभन्दा कम उमेरका युवाहरू हुन् । यस्तै वडा नं. ५ को वडाध्यक्षमा कांग्रेसबाट बिमल खड्का, एमालेबाट सुन लामा, माओवादीबाट अष्ट बहादुर लोप्चन र जसपाबाट बिमल प्रधान र लोसपाबाट सन्तोष मोक्तानले उम्मेदवारी दिएका छन् । लोसपाबाट वडाध्यक्ष पदका प्रत्यासी बनेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मोक्तान ठोरीमा नै सबैभन्दा कान्छो उमेरको उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालय ठोरीले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको उम्मेदवार सुचीमा उनको उमेर ३० वर्ष रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन