चितवनको माडीमा बस दुर्घटना, ६ यात्रु घाइते
चितवन,१३ बैशाख । माडीमा बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार छ जना यात्रु घाइते भएका छन्। मंगलबार दिउँसो करिब साढे १२ बजेको समयमा माडी नगरपालिका वडा नं. ७ किर्तनपुरस्थित बगईबाट नारायणगढतर्फ आउँदै गरेको लु२ख ६ नं.को बसको स्प्रिङ (पट्टा) भाचिँदा बस अनियन्त्रित भई सडकको दाहिनेतर्फको नालामा पस्दा ती यात्रु घाइते भएका हुन्।
उक्त दुर्घटनामा परी माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुर बस्ने वर्ष १४ की समीक्षा काफ्ले, सोही स्थान बस्ने वर्ष ३४ की राधिका काफ्ले, वडा नं. ७ कै किर्तनपुर बस्ने वर्ष ६६ की पूर्णकला अधिकारी घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यस्तै माडी नगरपालिका वडा नं. ९ गणेशकुञ्ज बस्ने वर्ष २८ की लक्ष्मी थापा, उहाँकी ९ वर्षीय छोरी विपना थापा र वडा नं. ६ स्याउलीवास बस्ने वर्ष २९ की पार्वती सुवेदी पनि घाइते हुनुभएको छ ।
घाइतेमध्ये स्याउलीबासकी पार्वती सुवेदी र किर्तनपुरकी पूर्णकला अधिकारीको स्थानीय मेडिकलमा उपचार भएको छ भने बाँकीको बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बस र चालक भने प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।