पालिका चुनावको लागि उम्मेदवारी दिनेको संख्या एक लाख ५२ हजार नाघ्यो मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन हुने



वीरगन्ज ,१५ वैशाख । पालिका चुनावको लागि उम्मेदवारी दिनेको संख्या एक लाख ५२ हजार नाघेको छ । हिजो बेलुकी अबरेसम्म अद्यावधिक भएको तथ्याँकअनुसार एक लाख ५२ हजार ६ सय ७६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगकाअनुसार केही जिल्लाका पालिकाबाट तथ्याँक संकलन बाँकी रहेकाले यो संख्या केही बढ्न सक्नेछ । आउँदो ३० गते हुने पालिका चुनावमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ ।

दलगत र स्वतन्त्रसहित मेयरमा तीन हजार ४९९, अध्यक्षमा तीन हजार ३८७, उपमेयरमा दुई हजार १५८, उपाध्यक्षमा दुई हजार ४०२, वडाध्यक्षमा ३५ हजार ३१० र वडा सदस्यमा ५५ हजार ५५९ जनाको उम्मेदवारी परेको छ । दलहरुले प्रमुख पदमा महिला उम्मेदवार कम उठाएका छन् । उपमेयर र उपाध्यक्षमा भने पुरुषभन्दा बढी महिला उम्मेदवार छन् । एमालेले मेयरमा २९१ जनालाई उम्मेदवार बनाउँदा महिला २७ मात्रै छन् ।

यस्तै एमालेबाट २६० महिला र २६ पुरुष गरी २८६ जना उपमेयरका उम्मेदवार बनेका छन् । कांग्रेसले १२ महिला र २५३ पुरुष गरी २६५ मेयर तथा १८० महिला र ३१ पुरुष गरी २११ जना उपमेयरको उम्मेदवार उठाएको छ । अध्यक्षमा एमालेको तर्फबाट २८ महिला र ४१८ पुरुष गरी ४४६ जना उम्मेदवार छन् । उपाध्यक्षमा ४१० महिला र ३५ पुरुष गरी ४४५ जना छन् । कांग्रेसले अध्यक्षमा १९ महिला र ३६३ पुरुष गरी ३८२ तथा उपाध्यक्षमा २९२ महिला र ६७ पुरुष गरी ३५९ जना उम्मेदवार बनाएको छ । माओवादी केन्द्रबाट १८ महिला र १५६ पुरुष गरी मेयरमा १७४ जना तथा १३० महिला र ८४ पुरुष गरी उपमेयरमा २१४ जना उम्मेदवार छन् ।

यस्तै अध्यक्षमा २९ महिला र २६१ पुरुष गरी २९० जना तथा उपाध्यक्षमा २०३ महिला र ११२ पुरुष गरी ३१५ जना माओवादीका उम्मेदवार छन् । एकीकृत समाजवादीबाट मेयरमा २३ महिला र १२७ पुरुष गरी १५० जना तथा उपमेयरमा १०६ महिला र ७१ पुरुष गरी १७७ जना उम्मेदवार छन् । एकीकृत समाजवादीले १२ महिला र १७५ पुरुष गरी १८७ जना अध्यक्षमा तथा ११२ महिला र ६८ पुरुष गरी १८० जना उपाध्यक्षमा उम्मेदवार उठाएको छ ।

यसैबीच मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । मनोनयनपत्र जाँचसँगै उम्मेदवारविरुद्ध परेका उजुरीहरुको छानबिन गरी निर्णय गरेर आज बेलुकी पाँच बजेसम्म नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची छ । भोलि १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग