बारामा गुडिरहेको कारमा आगलागी
बारा,१० जेठ । बारामा गुडिरहेको कारमा आगलागी भएको छ। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२–०२–००१ च.०१६५ नम्बरको कारमा आगलागी भएको हो।आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्नशन थापाले बताए । प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय क्षति भने हुन पाएन।लालबन्दीबाट हेटौंडा जाँदै गरेको कारमा आज बिहान ५ः३० बजे अचानक आगलागी भएको हो। दमकल, प्रहरी र स्थानीयको सहयोगले ६ः०० बजे आगो नियन्त्रणमा लिइएको थियो। कारको वायर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।