नयाँ बजेट समग्रमा सकारात्मक भए पनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको वीरगन्जका उद्योगी व्यवसायीको प्रतिक्रिया



वीरगन्ज,१६ जेठ । सरकारले हिजो सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट समग्रमा सकारात्मक भए पनि कार्यान्वयन हुनेमा चुनौतीपूर्ण रहेको वीरगन्जका उद्योगी व्यवसायीहरुले बताएका छन् । नयाँ बजेट उद्योगी–व्यवसायी क्षेत्रका लागि राम्रो भए पनि कार्यान्वयन हुनेमा ढुक्क नरहेको उनीहरूको प्रतिक्रिया छ ।वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले आगामी आर्थिक वर्ष २०७९÷८० को नयाँ बजेटलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको बताउनुभयो ।

तर नयाँ बजेटमा आएको कुरालाई कार्यान्वयन गरे मात्र बजेट सकारात्मक हुने उहाको भनाइ छ । अध्यक्ष गुप्ताले नयाँ बजेटमा व्यक्तिगत आयकरको सीमारेखा बढाइएको बताउँदै यसलाई सकारात्मक रूपमा लिएको बताउनुभयो  । नेपालको सबैभन्दा ठूलो समस्या नै बजेटको कार्यान्वयन पक्ष रहेको भन्दै उहाले तर निजी क्षेत्र यस बजेटमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । नयाँ बजेटको आकार पनि ठूलो रहेको र निजी क्षेत्रलाई सम्बोधन गर्ने खालको बजेट भएकाले सरकारसँग सहकार्य गर्न तत्पर रहेको गुप्ताले बताउनुभयो  ।

नयाँ बजेटमा विनियोजन गरिएको क्षेत्र पनि सबै छनोट भएकाले यो बजेटलाई सबै क्षेत्रले सकारात्मक रूपमा लिएको उहाको भनाइ छ । वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले नयाँ बजेट चुनावी बजेटका रूपमा आएको प्रतिक्रिया दिनुभयो  । सरकारले नयाँ बजेटमार्फत सबैलाई खुसी पार्न खोजे पनि सरकारसँग ढुकुटी नै नरहेको उहाको भनाइ छ । उहाले सरकारले सबैलाई खुसी पार्ने खालको बजेट ल्याएको भए पनि यो कार्यान्वयन गर्न असाध्यै कठिन रहेको बताउनुभयो ।

अहिले पाँच खर्बभन्दा बढी घाटाको बजेट आएको र राज्यले १८ खर्ब ऋण बोकेको अवस्था रहेको उहाको भनाइ छ । उहाले नयाँ बजेटमार्फत १८ प्रतिशत राजस्व उठ्ने परिकल्पना गरिएको भएपनि राजस्व उठाउने विश्वासिलो आधार नहुनुका साथै राज्यसँग खर्च गर्ने क्षमता नै नभएको बताउनुभयो  । यस्तै, निजी क्षेत्रका लागि सिमेन्ट र फलाम निर्यातलाई ८ प्रतिशत नगद अनुदान दिने कार्य राम्रो पक्ष रहेको उहाको भनाइ छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण