असार ९ गतेबाट ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको खोप दिने सरकारको तयारी
वीरगन्ज,२१ जेठ । सरकारले असार ९ गतेबाट ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विद्यालयमा खोप केन्द्र तोकि दुई चरणमा खोप अभियान सञ्चालन गरिने बताउनुभयो । पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो डोज र त्यहि समूहलाई श्रावण २ देखि ८ गतेसम्म दोश्रो डोजको लागि खोप अभियान सञ्चालन हुनेछ ।
यस्तै दोश्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लाका लागि भाद्र ५ देखि ११ गतेसम्म पहिलो डोज र त्यही समूहलाई भाद्र २७ देखि असोज १ गतेसम्म दोश्रो डोजको खोप अभियान सञ्चालन हुने मन्त्री खतिवडाले बताउनुभयो ।अध्ययनका अनुसार खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै उहाँले सम्पूर्ण अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाइदिन आग्रह गर्नुभएको छ ।
यसअघि सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर र मोर्डना खोप लगाएको थियो । कोभ्याक्स सुविधा मार्फत् निःश्ुल्क खोप उपलब्ध भएको मन्त्रालयले जनाएको छ । हालसम्म १२ वर्ष माथिका कुल जनसंख्याको ८५ प्रतिशत भन्दा बढीले कोभिड १९ विरुद्धको पूर्ण डोज खोप लगाइसकेको मन्त्रालयको दाबी छ । ९६ प्रतिशतले कम्तीमा एक डोज खोप लगाएको मन्त्रालयले जनाएको छ ।