जिल्ला समन्वय समिति पर्साको निर्वाचनमा जनता समाजवादी पार्टीले पाँचदलीय गठबन्धनलाई धोका दिएको नेताहरुको आरोप



वीरगन्ज,२५ जेठ । जिल्ला समन्वय समिति पर्साको निर्वाचनमा जनता समाजवादी पार्टीले पाँचदलीय गठबन्धनलाई धोका दिएको छ । नयाँ नेतृत्व चयनका लागि जनता समाजवादी पार्टीले गठबन्धनको साथ छोडेर नेकपा एमालेसँग तालमेल गरेर धोका दिएको हो । हिजो जनता समाजवादीले जिल्ला समन्वय समितिको सभापतिमा र नेकपा एमालेले उपसभापतिमा मनोयन दर्ता गराएको छ ।

जनता समाजवादी पार्टी प्रमुखमा निरन्जन प्रसाद सोनार र नेकपा एमालेबाट उपप्रमुखमा पुरण कुर्मीले मनोयन दर्ता गराएको सहायक मुख्य निर्वाचन अधिकृत जयप्रकाश काफ्लेले जानकारी दिनुभयो । जेठ २७ गते हुने निर्वाचनका लागी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोयन दर्ता भएको हो । जसपाले गठबन्धनको साथ छोडेपछि नेपाली कांग्रेसबाट समन्वय समितिको प्रमुखमा सरोज चौरसीया र उपप्रमुखमा कुमारी सोनीले मनोयन दर्ता गराएका छन् ।

कुनैपनि दलको एकल बहुमत नभएपछि जिल्ला समन्वय समिति निर्वाचनमा नेकपा एमाले र जसपा बिच चुनावी तालमेल भएको हो । भोली उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र पर्सि मतदान हुने कार्यतालिका रहेको सहायक मुख्य निर्वाचन अधिकृत काफ्लेले जानकारी बताउनुभयो । जनता समाजवादी पार्टीले सत्ता स्वार्थको लागि गठबन्धनको मर्म र भावना विपरित एमालेसँग तालमेल गरेको नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीका नेताहरुले बताएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले गठबन्धनको भावना विपरित गएर जसपाले आफ्नो राजनीतिक चरित्र उदांगो पारेको बताउनु भएको छ । सांगठनिक शक्ति बलियो रहेको दुई पार्टी कांग्रेस र जसपाले एकीकृत समाजवादी पार्टी र नेकपा माओवादीलाई कमजोर ठानेपनि केन्द्रमा आफ्नो शक्ति कमजोर नरहेको बताउदै आफूहरु केन्द्रीय निर्णय अनुसार इमान्दारिताका साथ लागेर गठबन्धनलाई जिताएको बताउनुभयो ।

उहाँले शक्तिको दम्भ र सत्ता स्वार्थमा लागेर गठबन्धनको मर्म र भावना विपरित एमालेसँग गठबन्धन गर्न पुगेर जनता समाजवादी पार्टी र पार्टीका नेताहरुले आफ्नो राजनीतिक चरित्रलाई उदांगो पारेको बताउनुभयो । त्यसैगरी नेपाली कांग्रेसका नेता श्याम पटेलले पनि जनता समाजवादी पार्टीले गठबन्धनलाई धोका दिएको बताउनुभयो । उहाँले जिल्लामा सबैभन्दा बलियो शक्तिको रुपमा रहेको नेपाली कांग्रेस गठबन्धनको पक्षमा नरहेपनि केन्द्रको निर्णय अनुसार इमान्दारिताका साथ गठबन्धनमा लागेर उम्मेदवारहरुलाई निर्वाचित गराईसकेपछि अहिले जनता समाजवादी पार्टीले गठबन्धनबाट बाहिर गएर आफ्नो पदको स्वार्थमा गठबन्धनलाई धोका दिएको बताउनुभयो ।

उहाँले महानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा पनि गठबन्धनमा कांग्रेस र जसपा नेतृत्व चुकेको बताउनुभयो । एकीकृत समाजवादीले नजितेपनि माओवादी केन्द्रबाट जितेका उम्मेदवारलाई समेटेर लाने पहल र भूमिका कांग्रेस र जसपाका नेतृत्वपंक्तिले खेल्नुपर्ने बताउनुभयो । यसले केन्द्रका शीर्ष नेतृत्वले भनेजस्तो गठबन्धनलाई निरन्तरता दिने कुरामा प्रभाव पार्न सक्ने थापा र पटेलको भनाई छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन