बजेट पास हुने बित्तिकै नागरिकता विधेयक ल्याउने प्रधानमन्त्री देउवाको भनाइ
काठमाडौं,३० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गर्ने बताउनुभएको छ । आज बिहान लोकतान्त्रिक समाजवादीका नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्नेलगायत मागसहित यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।
तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति नभएको भन्दै नेताहरु सोमबार बिहान फेरि प्रधामन्त्रीलाई भेटन गएका हुन् ।भेटमा आफूहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक कहिले आउँछ भनेर प्रधानमन्त्रीलाई सोधेको र प्रधानमन्त्रीले बजेट लगत्तै नागरिकतासम्बन्धी विधेक संसदबाट पारित गर्ने बताएको नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।