एसिसी महिला टी–२० च्याम्पियनसिप ः नेपालको विजयी सुरुआत



काठमाडौँ, ३ असार । एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको उद्घाटन खेलमा नेपालले भूटानलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । नेपालले दिएको ९५ रनको लक्ष्य भूटानले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटियो । भूटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

नगवान चोदेनले ८, सोनाम चोदेनले ५ तथा पेमा सोल्डनले ४ रन जोडिन् ।भूटानलाई सस्तैमा समेट्नेक्रममा नेपालकी सङ्गीता राई एक्लैले चार विकेट लिइन् भने कविता कुवँर र सीता रानामगरले समान दुई÷दुई विकेट लिए । त्यसैगरी अस्मिना कर्मचार्य र इन्दु वर्माले एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल बनाएको थियो ।

नेपालका लागि काजोल श्रेष्ठले सर्वाधिक २६ रनको योगदान दिइन भने इन्दु बर्माले २० रन बनाइन् । त्यस्तै कप्तान रुविना क्षेत्रीले २१, डोली भट्टले ५, सीता रानामगरले ४ तथा ममता चौधरीले ३ रन जोडिन् । बलिङमा भूटानकी सोनाम चोदेन एक्लैले चार विकेट लिइन भने अञ्जु गुरुङ र तासी चेकीले एक एक विकेट लिए ।

समूह बी मा रहेको नेपालले भोलि कुवेतको सामना गर्नेछ । समूह बी मा नेपालसहित बहराइन, भूटान, हङकङ र कुवेत छन् । त्यसैगरी समूह ए मा आयोजक मलेसिया, ओमान, कतार, सिङ्गापुर र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् भने फाइनल पुग्ने टोलीले एशिया कप खेल्न पाउनेछ । (रासस)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हार्दिक पाण्ड्यालाई भारतको राष्ट्रिय टिमको कप्तान नियुक्त
आइसिसी विश्वकप लिग–२ नेपाल अमेरिकासँग पराजित
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै
१९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा नेपाल ८ रनमा अलआउट हुँदै पराजित