ठोरीमा मधेस प्रदेश सरकारको मन्त्री परिषद बैठक सम्पन्न , ठोरीलाइ पर्यटकीय क्षेत्र बनाउने प्रदेश सरकारद्धारा घोषणा



वीरगन्ज, ११ चैत । तराई मधेसकै मिनी उपत्यकाको रुपमा चिनिएको पर्साको ठोरीलाइ मधेस प्रदेश सरकारले ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको छ ।आज पहिलो पटक ठोरीमै बसेको मधेश प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले ठोरीलाइ ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको हो । त्यसअघि ठोरी २ स्थित ठोरी जंगल रिसोर्टमा मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रीपरिषद बैठकले ठोरीलाइ ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको थियो ।

त्यसपछि अहिले साँझ ठुटेखोला स्थित राइधारा क्षेत्रमा आयोजित औपचारिक कार्यक्रममा मुख्यमन्त्री राउतले मन्त्रीपरिषदको निर्णय सुनाउदै ठोरीलाइ ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्नु भएको हो । त्यस अवसरमा मुख्यमन्त्री राउतले ‘पर्यटकीय क्षेत्र’ घोषणा गरिएको ठोरीमा पर्यटकीय विकासका लागि प्रदेश सरकारले तत्कालका लागि केहि बजेट उपलब्ध गराउने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको जानकारी दिनुभयो ।

मन्त्रीपरिषद बैठक र घोषणा कार्यक्रममा मधेस प्रदेश सरकारका मन्त्रीहरुको पनि सहभागीता रहेको थियो । ठोरी गाँउपालिकाका अध्यक्ष पिएल श्रेष्ठले प्रदेश सरकारले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेकोमा सरकारलाइ धन्यवाद दिनुभयो ।ठोरी , मधेस प्रदेशकै एक महत्वपूर्ण पर्यटकीय क्षेत्र भएपनि सरकारबाट सधै उपेक्षित बन्दै आएकोमा अहिले ढिलै भएपनि प्रदेश सरकारको नजरमा पुगेकोमा उहाले खुशी व्यक्त गर्नुभयो ।

मधेस प्रदेश सरकारको मन्त्रीपरिाद बैठक नै ठोरीमा बस्नु र बैठकले ठोरीलाइ ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्ने निर्णय गर्नु ठोरीका लागि ऐतिहासिक दिन भएको श्रेष्ठले बताउनुभयो ।यसले ठोरी गाउँपालिकाका पर्यटकीय स्थल र क्षेत्रहरुलाई व्यवस्थित गर्न सहयोग मिल्ने उहाको विश्वास छ ।मधेश प्रदेश सरकारले ठोरीलाइ पर्यटकीय क्षेत्र घोषणा गरेपछि बजेट र कार्यक्रमहरु आउने भएकाले यसले ठोरीका पर्यटकीय क्षेत्रहरुको व्यवस्थापनमा सहयोग पुने उहाले बताउनुभयो ।

यसका साथै देशविदेशमा अब ठोरीको प्रचार प्रसार हुने र पर्यटकहरुको आवागमन पनि बढ्ने उहाले बताउनुभयो ।दुइ वर्ष अघि सम्म पर्सा जिल्लाकै सबै भन्दा दुर्गम क्षेत्रका रुपमा रहेको ठोरी , ६ महिन यता भने हुलाकी सडक बनेर सदरमुकाम वीरगन्जसंग सहज सडक सम्पर्कमा जोडिएपछि त्यहा देशैभरबाट पर्यटकहरु पुग्न थालेका छन् ।

जंगल र पहाडको काखमा रहेको ठोरीमा छिमेकी मुलुक भारतबाट पनि पर्यटकहरु आउने गरेका छन् । अंग्रेजी नयाँ वर्षको दिन भारतको पटना, बेतिया, समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी, नरकटियागन्ज लगायतका शहरबाट भारतीयहरु ठुलो संख्यामा ठोरी घुम्न र वनभोज खान आउने गरेका छन् ।

आकर्षक पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुदै गएको ठोरीमा राईधारा, सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सीता गुफा, सिकारीबास लगायत दुइ दर्जन भन्दा बढी रमणीय प्राकृतिक पर्यटकीय स्थलहरु छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आचारसंहिताविपरीत प्रधानमन्त्री र मन्त्री चुनावी प्रचारमा
वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने
नौ महिनामा साढे ३ अर्बको राउटर नेपाल भित्रियो
मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने