नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन



काठमाडौँ, ३ असार । मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन शुरु गरेका छन् । नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरुलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माईतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरुले आन्दोलन शुरु गरेका हुन् । साहू जगदिशका दाजुभाईसँग विदेश जानको लागि डेढ लाख रुपैयाँ ऋण लिएर पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदा समेत अझै ऋण चुक्ता नभएको भन्दै पैसा माग्ने गरेको मिटर ब्याज पीडित राज कुमारले बताउनु भयो ।

उहाँले भएको जग्गा जमिनसमेत बेचेर पैसा तिरेको र अब तिर्न नसक्ने अवस्थामा पुगेकाले न्यायको लागि काठमाडौंमा आएको बताउनु भयो । उहाँले भन्नुभयो,‘मलाई विदेश पठाउनको लागि बुबाले साहू महाजनसँग कर्जामा १ लाख ५० हजार रुपौया लिनुभएको थियो । डेढ लाख कर्जामा मैले विदेशमा गएर ६ वर्ष बसेँ तर ऋण पूरा गर्न सकेको छैन । मैले ६ वर्षको कमाई १२ लाख जति दिइसके । तर अझै पूरा भएको छैन पैसा देउ । हामीले जग्गा बेचेरसमेत पैसा दिन नसकेकाले न्यायको लागि काठमाडौंमा आएको छौं ।’

त्यस्तै अर्का मिटर व्याज पीडित जयप्रकाश कुर्मी छोरालाई विदेश पठाउनको लागि पैसा आवश्यक भएकाले सुनिल बानियाँसँग १ लाख रुपौयाँ ऋण लिएको बताउनु भयो । उहाँले बानियाँले १ लाख पैसा दिएर २ लाखको तमसुक बनाएको बताउनु भयो । बानियाँलाई ५ लाख ५ हजार रुपैयाँ दिइसके पनि अहिले ८ लाख माग गरेको गुनासो गर्नुभयो । जग्गा बचेर भएपनि पैसा दिन दबाब दिएको तर आफूसँग ४ कठ्ठा १५ धुर मात्रै जग्गा रहेको पीडितले बताउनु भयो ।

त्यस्तै अर्का पीडित रामसुरत गुप्ताले ऋण लिएको पैसा चुक्ता भयो भनेर तमसुक माग्दासमेत नदिएको बताउनु भयो । उहाँले ऋण चुक्ता भएको कागज गरेर पनि आफूहरुको लेखाई नभएको भन्दै बाँकी पैसा माग्ने गरेकोसमेत बताउनु भयो । गुप्ताले जनता मार अपराधीलाई कारबाही गरेर मात्रै जानको लागि काठमाडौं आएको बताउनु भयो ।

आन्दोलनमा आएकाहरुले हजुरबुबाले लिएको ऋण नाती पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गा समेत कब्जा गरेर भूमिहिन भएको बताएका छन् । आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले मिटर ब्याज लिन पाइँदैन,जनता मार्न पाइँदैन, मिटर ब्याज लिनेहरु खबदार,मिटर ब्याज लिनेलाई कारबाही गर्,मिटर ब्याज लिएर जनतालाई सुकुम्वासी र भूमिहिन बनाउन पाइँदैन,लेखेका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान
हार्दिक पाण्ड्यालाई भारतको राष्ट्रिय टिमको कप्तान नियुक्त
अन्तर्वार्ताः राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री जनार्दन शर्मा